शिक्षामा नागरिक समाजको सहभागिता बढाउन स्थानीय सरकारका असल अभ्यासबारे गोष्ठी सम्पन्न
54 मिनट पहिले प्रकाशित
राष्ट्रिय अवाज
जनकपुरधाम, कार्तिक १४ गते
शिक्षामा नागरिक समाजको सहभागिता अभिवृद्धि गर्दै स्थानीय सरकारबाट भइरहेका असल अभ्यासहरूको पहिचान, संकलन तथा आदानप्रदान गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने गोष्ठी सम्पन्न भएको छ। कार्तिक १४ गते जनकपुरधाम स्थित जानकी स्टार होटलमा ‘शिक्षामा नागरिक समाजको सहभागिता : स्थानीय सरकारका असल अभ्यास संकलन सम्बन्धी गोष्ठी’ आयोजना गरिएको हो।
युरोपेली संघको सहयोग तथा एनसीई नेपाल, ग्लोबल एक्सन नेपाल र नेपाल अपाङ्ग महिला संघको संयुक्त साझेदारीमा आयोजित गोष्ठीको अध्यक्षता एनसीई नेपाल धनुषाका जिल्ला संयोजक लालबाबु हात्तीले गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण सन्तोष महर्जन र ग्लोबल एक्सन नेपालका कार्यक्रम निर्देशक श्रीकृष्ण वेन्जुले गर्नुभएको थियो।गोष्ठीमा शिक्षाको क्षेत्रमा नागरिक समाजको भूमिका, स्थानीय तहले शिक्षा क्षेत्रमा गरेका असल अभ्यासहरूको पहिचान तथा दस्तावेजीकरण र ती अभ्यासलाई अन्य स्थानीय तहसम्म विस्तार गर्न सकिने सम्भावनाका विषयमा छलफल गरिएको थियो।
स्थानीय सरकार, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय तथा समावेशी शिक्षाको विकासमा योगदान पुर्याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।