पर्यटनमन्त्री कनिष पटेल द्वारा मिस वेलनेस वर्ल्ड सानवी सम्मानित
1 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, कार्तिक १२ गते
‘मिस वेलनेस वर्ल्ड–२०२६’ को उपाधि जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउन सफल जनकपुरधाम उपमहानगरपालिका–१८ की सानवी मण्डललाई मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले सम्मान गरेका छन्।
मधेश प्रदेशका मन्त्री पटेलले सानवी लाई प्रशंसापत्र प्रदान गर्दै उनको उपलब्धि सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए। अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम र पहिचान उजागर गर्न सफल भएकोमा उनले सानवी लाई बधाई तथा शुभकामना व्यक्त गरे।
सानवीको सफलताले मधेश प्रदेशसहित समग्र देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै मन्त्री पटेलले यस्ता प्रतिभालाई प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिए। उनले युवतीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न अवसर प्रदान गर्नुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च सम्म पुग्न प्रेरित गर्नुपर्ने बताए।
कार्यक्रममा सानवीका माता–पितालाई समेत सम्मान गरिएको थियो। विशेषगरी छोरीलाई स्वतन्त्रता दिँदै आफ्नो प्रतिभा विकास गर्न र लक्ष्य प्राप्तिका लागि अघि बढ्न सहयोग गरेको भन्दै मन्त्री पटेलले सानवीका पिता सञ्जय मण्डलको प्रशंसा गरे।
“हाम्रो जस्तो पिछडिएको समाजमा अझै पनि छोरीहरूलाई पर्याप्त स्वतन्त्रता र अवसर दिने चलन व्यापक हुन सकेको छैन। तर तपाईंले आफ्नी छोरीलाई स्वतन्त्रता दिनुभयो, अघि बढ्न प्रोत्साहित गर्नुभयो र उनको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्नुभयो। त्यसैले तपाईं विशेष धन्यवाद र बधाईका पात्र हुनुहुन्छ,” मन्त्री पटेलले भने।
उनले छोरीहरूलाई उचित अवसर र पारिवारिक सहयोग उपलब्ध गराउन सके उनीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्न सक्ने सन्देश सानवीको उपलब्धिले दिएको बताए। सहभागीहरूले महिला सशक्तीकरण, प्रतिभाको पहिचान र समान अवसरको सुनिश्चितताका लागि समाजका सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
सानवीको उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई नेपालका अन्य युवतीहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। उनको सफलताले प्रतिभा, आत्मविश्वास र परिवारको सहयोगले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो पहिचान स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।