सुगौलीमा सरदार पटेलको १५१औँ जन्मजयन्ती, नेपाल–भारतका अगुवाको सहभागिता
1 घन्टा पहिले प्रकाशित
दीपक श्रेष्ठ मण्डल
कार्तिक १४ गते
भारतको राष्ट्रिय एकीकरणका सूत्रधार सरदार वल्लभभाई पटेलको १५१औँ जन्मजयन्तीका अवसरमा बिहारको सुगौलीमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा नेपाल र भारतका राजनीतिक, सामाजिक तथा सामुदायिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो।
भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री आरसीपी पटेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिहार सरकारका पूर्वमन्त्री बृषण पटेल, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेल र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश कुमार पटेल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यस्तै, रक्सौल विधानसभा प्रत्याशी भुवन पटेल, पटेल छात्रावास युवा संघ बिहारका अभय पटेल, श्री कुर्मी सशक्तीकरण मञ्च रौतहटका अध्यक्ष शिवजी राय पटेल, जसपा नेता पुनप्रताप पटेल, समाजसेवी नागेन्द्र प्रसाद पटेल र उपसचिव जयकुमार राउत पटेललगायतको उपस्थिति थियो।
समारोहमा सरदार पटेलले भारतको राष्ट्रिय एकीकरण, अखण्डता र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले विविधता, सामाजिक सद्भाव र सामूहिक एकताको महत्त्व उजागर गर्दै पटेलको जीवनबाट संगठन, नेतृत्व र राष्ट्रिय प्रतिबद्धताको प्रेरणा लिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा सामाजिक एकता र सामुदायिक सशक्तीकरणलाई विकासको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। समाजलाई शिक्षित, संगठित र आत्मनिर्भर बनाउने अभियानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
नेपाल र भारतका अगुवाहरूको सहभागिताले सीमापार सामाजिक सम्बन्ध र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
rastriyaawaj@gamil.com