मधेशका आठै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्न जोड
3 घन्टा पहिले प्रकाशित
मोनु गुप्ता
जनकपुरधाम, कार्तिक १३ गते
मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्न सरोकारवालाहरूले जोड दिएका छन्। विपद्को जोखिम न्यूनीकरण र विपन्न समुदायको आवास सुरक्षा सुनिश्चित गर्न सुरक्षित घर निर्माणसँगै वित्तीय सेवाको पहुँच विस्तार गर्नुपर्ने उनीहरूको धारणा छ।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जर्सी ओभरसिज एड (Jersey Overseas Aid – JOA) को आर्थिक सहयोगमा सञ्चालित होम्स नेपाल (HOMES Nepal) परियोजनाअन्तर्गत आयोजना गरेको ‘वित्तीय समावेशीकरण र सुरक्षित आवासका लागि प्रणाली सुदृढीकरण: चुनौती र अवसरहरू’ विषयक एकदिने कार्यशालामा स्थानीय तह, प्रदेशस्तरीय निकाय, राष्ट्रिय नियामक संस्था, वित्तीय सेवा प्रदायक तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी भएका थिए।
यात्री निवास जनकपुर धाममा आयोजित अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास, आवास वित्त, लघु आवास बीमा तथा वित्तीय र डिजिटल साक्षरताका विषयमा छलफल गरिएको थियो।कार्यक्रमकी प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री सुरिता साहले सुरक्षित आवासलाई नागरिकको आधारभूत आवश्यकता र विपद् जोखिम न्यूनीकरणको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिइन्। आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्याउन सरकार, स्थानीय तह र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।उनले यस्ता कार्यक्रम प्रदेशका सबै जिल्लामा विस्तार गरी लक्षित समुदायसम्म पुर्याउनुपर्ने समसामयिक आवश्यकता औँल्याइन्।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका विजयप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम सञ्चालन शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत दिलीप मुखियाले गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य तीनै तहका सरकार तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सुरक्षित आवास, आवास सम्बन्धी वित्तीय सेवा, लघु बीमा र डिजिटल वित्तीय सेवामा समुदायको पहुँच बढाउने सम्भावना पहिचान गर्नु थियो।