राधाकृष्ण सार्वजनिक पुस्तकालयमा नयाँ नेतृत्व, अध्यक्षमा शम्भु यादव निर्वाचित
57 मिनट पहिले प्रकाशित
भाग्य चरण यादब
राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक १४ गते
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित राधाकृष्ण सार्वजनिक पुस्तकालयको अध्यक्षमा शम्भु यादव निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयनका लागि शुक्रबार भएको निर्वाचनमा यादवले ५१ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामदत्त ठाकुरलाई पराजित गरेका हुन्। ठाकुरले ४० मत प्राप्त गरे।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा बिहारी राउत ४७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अरुणकुमार यादवले ३९ मत प्राप्त गरे। त्यस्तै, कोषाध्यक्षमा दयानिधि यादव ५३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी वचन यादवले ३७ मत पाए।
सचिव पदमा रामविलास धनकार ४८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र राउतले ४० मत प्राप्त गरे। यसैगरी, सहसचिवमा अशोकप्रसाद साह ४३ मतसहित विजयी भएका छन् भने धनेश्वर राउतले ४१ मत पाए।
सदस्य पदमा मन्जे राउत ७० मतसहित सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यस्तै, सूर्यानारायण यादव र भरत यादवले समान ६३ मत प्राप्त गरेका छन्। रामकली देवी ६१, रामप्रसाद सहनी ५५ र सोनेलाल राउत ५४ मतसहित सदस्यमा निर्वाचित भएका छन्। सदस्य पदका उम्मेदवार उमेश यादवले ४९ मत प्राप्त गरे।
नयाँ कार्यसमिति चयनसँगै पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन र शैक्षिक तथा साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
वि.सं. २०२२ सालमा स्थापना भएको राधाकृष्ण सार्वजनिक पुस्तकालय जनकपुरधामको पुरानो सार्वजनिक संस्थामध्ये एक हो। बदलिँदो समयअनुसार पुस्तकालयलाई अध्ययन, अनुसन्धान, साहित्यिक गतिविधि र बौद्धिक विमर्शको केन्द्रका रूपमा विकास गर्नु नवनिर्वाचित नेतृत्वको प्रमुख चुनौती हुनेछ।