जसपाका वरिष्ठ उपाध्यक्ष चन्द्रदीप यादव रास्वपामा प्रवेश गर्दै
13 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
धनुषा, कार्तिक १ गते
धनुषाको बिदेह नगरपालिका–५, मुरीबाका युवा नेता चन्द्रदीप यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आज प्रवेश गर्ने भएका छन्। लामो समयदेखि राजनीतिमा सक्रिय यादव जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ उपाध्यक्षसमेत रहिसकेका छन्।
स्रोतका अनुसार यादव आज रास्वपामा प्रवेश गर्ने तयारीमा छन्। सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवले पार्टी प्रवेश बारे राष्ट्रिय आवाजलाई जानकारी दिएका हुन्।
पछिल्लो समय बालेन्द्र शाह (बालेन) प्रति मधेश प्रदेशसहित विभिन्न क्षेत्रमा बढ्दो आकर्षणका बीच यादवको रास्वपा प्रवेशलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
राष्ट्रिय आवाज सँगको कुराकानीमा यादवले समाजमा बढ्दै गएको भ्रष्टाचार न्यूनीकरण तथा सुन्दर समाज निर्माणका लागि युवाहरू एकताबद्ध हुनु आवश्यक रहेको बताए। समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको सक्रिय सहभागिता र एकता महत्त्वपूर्ण हुने उनको भनाइ छ।