जनकपुरधाममा हाजिरीजवाफ प्रतियोगिता, समूह ‘डी’ प्रथम
10 दिन पहिले प्रकाशित
मोनू गुप्ता
जनकपुरधाम, कार्तिक ३ गते
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि हेतु श्रीहरि मानव कल्याण मञ्च द्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री महारानी माताको प्राङ्गणमा आयोजित प्रतियोगितामा पाँचवटा समूहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको प्रतियोगितामा यस पटक समूह ‘डी’ ले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै, समूह ‘ई’ द्वितीय र समूह ‘सी’ तृतीय भएका छन्।
कुल ५० वटा प्रश्न समावेश गरिएको प्रतियोगिताको पहिलो चरणमा समूह ‘डी’ ले आठ अंक हासिल गर्दै अग्रस्थान कायम गरेको थियो। त्यस्तै, समूह ‘ई’ र समूह ‘सी’ ले समान सात–सात अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लगाउन दुवै समूहबीच अतिरिक्त प्रतिस्पर्धा गराइएको थियो। थप दुईवटा प्रश्न सोधिएको उक्त प्रतिस्पर्धामा समूह ‘ई’ ले एक अंक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको थियो भने समूह ‘सी’ तृतीय भएको थियो। त्यसैगरी, समूह ‘बी’ ले कुल चार अंक प्राप्त गरेको थियो। सहभागी विद्यार्थीहरूको उत्साह र मनोबल बढाउने उद्देश्यले सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूह ‘डी’ को नेतृत्व सिद्धार्थ सहनीले गरेका थिए। त्यस्तै, द्वितीय स्थान प्राप्त गर्ने समूह ‘ई’ को नेतृत्व सन्देश सहनी र तृतीय स्थान हासिल गर्ने समूह ‘सी’ को नेतृत्व प्रिन्स कुमार मण्डलले गरेका थिए।
प्रतियोगिताका विजेता समूहहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुने समूहलाई रु. ५ हजार ५ रुपैयाँ, द्वितीय हुने समूहलाई रु. ३ हजार ५ रुपैयाँ र तृतीय हुने समूहलाई रु. २ हजार ५ रुपैयाँ प्रदान गरिएको थियो। त्यस्तै, सान्त्वना पुरस्कारस्वरूप रु. १ हजार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा मञ्चका अध्यक्ष तथा युवा पत्रकार दिपक श्रेष्ठ मण्डलले विद्यार्थीहरूको बौद्धिक क्षमता विकास, अध्ययनप्रतिको रुचि अभिवृद्धि तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले संस्थाले प्रत्येक वर्ष यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनु भयाे।
उहाँका अनुसार विद्यार्थीहरूमा पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै समसामयिक विषयप्रतिको चासो, तार्किक क्षमता र सामूहिक रूपमा काम गर्ने बानी विकास गर्नु आवश्यक छ। यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
यसैबीच, कार्यक्रममा स्थानीय समाजसेवी जयशंकर राउतलाई समाजसेवाका क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै मञ्चका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले सम्मान गर्नुभएको थियो। समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै सामाजिक सेवाप्रति थप प्रेरणा जगाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ।
शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आएको श्रीहरि मानव कल्याण मञ्चले विद्यार्थीहरूको क्षमता विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतियोगिताले विद्यार्थीहरूलाई ज्ञान र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय समुदायमा शैक्षिक जागरण तथा सकारात्मक सामाजिक चेतनाको सन्देश प्रवाह गरेको छ।