मधेशमा मानसिक स्वास्थ्य संकट गहिरिँदै : एक वर्षमै १,२८८ जनाको मृत्यु, विशेषज्ञ चिकित्सक मात्र १० जना

1 महीना पहिले प्रकाशित

 

रेविता कुमारी साह 

जनकपुरधाम, असार २ गते 

मधेश प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। पछिल्लो एक वर्षको अवधिमा मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित कारणले १ हजार २ सय ८८ जनाले ज्यान गुमाएको पाइएको छ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र टीपीओ नेपालको सहयोगमा जनकपुरधाममा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रम’ को प्रदेशस्तरीय वार्षिक समीक्षाका क्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १ सय ८२ जनाको विष सेवनका कारण मृत्यु भएको छ। प्रस्तुत तथ्याङ्कले मानसिक स्वास्थ्य समस्याका कारण हुने मृत्युको संख्या प्रदेशमा वर्षेनी बढ्दो क्रममा रहेको संकेत गरेको छ।

समीक्षा कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साह ले मानसिक स्वास्थ्य समस्याको बढ्दो प्रवृत्ति समाज र राज्य दुवैका लागि गम्भीर चुनौती बनेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्यलाई स्वास्थ्य सेवाको प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादव ले प्रदेशमा करिब ६४ लाख जनसंख्या भए पनि मानसिक रोगको उपचारका लागि सरकारी तथा निजी क्षेत्र गरी जम्मा १० जना विशेषज्ञ चिकित्सक मात्र उपलब्ध रहेको जानकारी दिनुभयो। विशेषज्ञ जनशक्तिको अभावले सेवा विस्तारमा चुनौती थपिएको उहाँको भनाइ थियो।

त्यसैगरी, UNFPA मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले मानसिक स्वास्थ्यका कारण वार्षिक रूपमा करिब १,३०० जनाको मृत्यु हुनु दुःखद अवस्था भएको उल्लेख गर्दै प्रत्येक पालिकामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाको पहुँच र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य निर्देशनालयका अनुसार मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये हाल ९३ पालिकामा मनोसामाजिक परामर्शकर्ताको पहुँच विस्तार गरिएको छ। साथै मानसिक रोगका अत्यावश्यक औषधि खरिद तथा वितरणको कार्यसमेत अगाडि बढाइएको जनाएको छ।

प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागितामा सम्पन्न वार्षिक समीक्षाले मानसिक स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि जनचेतना अभिवृद्धि, नीति सुधार, दक्ष जनशक्ति उत्पादन तथा सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..