यातायात क्षेत्रको लगानी जोगाउन सरकार सँग माग
14 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
राष्ट्रिय आवाज
जनकपुरधाम, असोज ३० गते
माँ जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले यातायात क्षेत्रमा निजी लगानीको सुरक्षा र श्रमिकको रोजगारी जोगाउन सरकारसँग माग गरेका छन्। उनले विद्युतीय सवारीसाधन (ईभी) प्रवर्द्धन गर्ने नीति सँगै परम्परागत डिजेल बस व्यवसायीलाई पनि उचित अवसर र संरक्षण दिनुपर्ने बताएका छन्।
चौधरीका अनुसार २५० किलोमिटरको दायराभित्र सञ्चालन हुने यातायात सेवामा ईभी लाई प्राथमिकता दिने सरकारी नीतिले लामो समयदेखि यातायात क्षेत्रमा लगानी गर्दै आएका व्यवसायी आर्थिक संकटमा पर्न सक्ने अवस्था छ।
काठमाडौँ जाने डिजेल बसको भाडा १ हजार ९ सय रुपैयाँ हुँदा ईभीको भाडा १ हजार रुपैयाँ मात्रै रहेकाले डिजेल बस व्यवसायीलाई प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाइ छ।
सरकारले ईभी प्रवर्द्धन गर्न चाहेको अवस्थामा पुराना डिजेल बसको प्राविधिक तथा आर्थिक मूल्याङ्कन गरी उचित मूल्यमा खरिद गर्ने व्यवस्था गर्नुपर्ने चौधरीले सुझाव दिए। यसबाट प्राप्त रकमले व्यवसायीले ईभी खरिद गरी यातायात व्यवसायलाई निरन्तरता दिन सक्ने उनको तर्क छ।
‘व्यवसायीको लगानी संरक्षण र नीतिगत परिवर्तनको उचित व्यवस्थापन हुन नसके यातायात क्षेत्रमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुन सक्छ,’ चौधरीले भने। माग सम्बोधन नभए दीपावली र छठपछि ईभी तथा डिजेल बस व्यवसायीबीचको विवाद आन्दोलनमा परिणत हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।
चौधरीका अनुसार माँ जानकी यातायात प्रालिमा करिब ८०० बस दर्ता रहेकामा हाल करिब ४०० बस नियमित सञ्चालनमा छन्। मेचीदेखि महाकालीसम्म यातायात सेवा विस्तार गरेको संस्थामा सैंकडौं कर्मचारी कार्यरत छन्। सञ्चालनमा रहेका बससँग चालक, सहचालक तथा परिचालक गरी करिब २ हजार ४०० जनाको रोजगारी जोडिएको उनले बताए।
यातायात क्षेत्रमा देखिएको संकटले व्यवसायीलाई मात्र नभई श्रमिक र उनीहरूका परिवारको जीविकोपार्जनमा समेत असर पार्न सक्ने उनको भनाइ छ। सरकारले उपभोक्ताको हित, व्यवसायीको लगानी र श्रमिकको रोजगारी बीच सन्तुलन कायम गरेर नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
* जनकपुरधामको विकासमा पर्यटन र सरसफाइमा जोड
अध्यक्ष चौधरीले जनकपुरधामको समग्र विकासका लागि व्यवस्थित सहरीकरण, सरसफाइ र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सहरको फोहोर व्यवस्थापन गर्न उपयुक्त ल्यान्डफिल साइटको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनकपुरधाम लाई भगवान् राम र माता सीताको विवाहस्थलका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सके पर्यटन मार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिने उनले बताए। अयोध्या सहित विभिन्न स्थानबाट पर्यटक आकर्षित गर्न पूर्वाधार विकास र निजी क्षेत्रको सहभागितामा जोड दिनुपर्ने उनको धारणा छ।
निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै यातायात, पर्यटन र सहरी पूर्वाधारको विकासमा ध्यान दिन सके जनकपुरधाममा आर्थिक समृद्धि र रोजगारी सिर्जनाका अवसर बढ्ने चौधरीले बताए।यसैबीच, अध्यक्ष चौधरीले बडादसैँ, दीपावली तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।