भोटेकोशी बाढीपीडितको घाउमा जनकपुरधामका सुनचाँदी व्यवसायीको मल्हम

6 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, भदौ २२ गते 

 

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडामा जनकपुरधामका सुनचाँदी व्यवसायीले मानवीय सहयोगको हात बढाएका छन्।

 

जनकपुरधाम सुनचाँदी व्यवसायी संघले सोमबार जनकपुरधाममा कार्यक्रम आयोजना गरी बाढीपीडितका लागि ३ लाख १ हजार रुपैयाँ नगदसहित २०१ थान ट्रयाकसुट र ५१ थान प्रेसर कुकर राहतस्वरूप उपलब्ध गराएको हो।

संघका अध्यक्ष राजीव कुमार साह ‘चन्दन’का अनुसार व्यवसायीहरू बाट संकलित ३ लाख १ हजार रुपैयाँ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेस प्रदेशका अध्यक्ष पवन कुमार ठाकुरलाई हस्तान्तरण गरिएको छ। त्यस्तै, २०१ थान ट्रयाकसुट जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत र ५१ थान प्रेसर कुकर सहजीकरण अभियानका संयोजक अम्बुप्रसाद साहमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ।

राहत हस्तान्तरण गर्दै अध्यक्ष साहले बाढी तथा प्राकृतिक विपद्का कारण व्यवसायी समुदाय स्वयं पनि प्रभावित भई व्यवसायिक गतिविधि प्रभावित भएको अवस्थामा समेत पीडित नागरिकको दुःखमा साथ दिन आफ्नो क्षमताअनुसार सहयोग जुटाइएको बताए।

उनले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु निजी क्षेत्र तथा व्यवसायी समुदायको सामाजिक दायित्व भएको उल्लेख गर्दै मानवीय सेवाका कार्यमा सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

अध्यक्ष साहले तत्कालीन राहतसँगै प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माण पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार त्यसका लागि समेत संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको संघले जनाएको छ। संघले आगामी दिनमा पनि राहत, पुनःस्थापना तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेस प्रदेशका अध्यक्ष पवन कुमार ठाकुर, महासचिव मनिस रमन साह, जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, अध्यक्ष सुरेन्द्र भण्डारी, वरिष्ठ उपाध्यक्ष मनोज साह, उपाध्यक्ष लक्ष्मण साह तथा श्री महावीर युवा कमिटीका अध्यक्ष अजय कुमार गुप्तालगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..