श्री गोगल नमूना माविको ७६ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित
8 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, साउन २० गते
जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया स्थित श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयको ७६ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
वडा नं. २४ का वडा अध्यक्ष शेषनाथ मण्डलको अध्यक्षतामा तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी लाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मनोज कुमार साहले विद्यालयको वार्षिकोत्सव केवल औपचारिक कार्यक्रम नभई एक प्रकारको सामाजिक परीक्षण (सोसियल अडिट) भएको बताए। उनले विद्यालयले एक वर्षमा गरेका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिको समीक्षा वार्षिकोत्सवमार्फत समाजसमक्ष प्रस्तुत हुने उल्लेख गर्दै यस अवसरमा अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा समाजका विभिन्न वर्गबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचनाले विद्यालयलाई अझ प्रभावकारी रूपमा अघि बढ्न मार्गदर्शन गर्ने बताए।
"वार्षिकोत्सवमा समाजका विभिन्न वर्गले विद्यालयका कामकारबाही बारे आफ्नो धारणा राख्छन्। ती रचनात्मक सुझाव र टिप्पणीलाई आत्मसात् गर्दै सुधारका योजनासहित अघि बढ्नु नै वार्षिकोत्सवको वास्तविक उद्देश्य हो," उनले भने।
मेयर साहले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यालय, अभिभावक र समुदाय बीचको सहकार्यलाई सुदृढ बनाउँदै सार्वजनिक विद्यालयप्रतिको विश्वास बढाउन सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नगर उपप्रमुख किशोरी साह, शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डे, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शत्रुघन प्रसाद शर्मा, वडा सदस्य शेष अमजद हुसैन, प्रधानाध्यापक महावीर दास, सहायक प्रधानाध्यापक राजनारायण मण्डल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा शैक्षिक सत्र २०८२ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, तहगत उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावक, शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन, प्रविधिमैत्री शिक्षण र अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।