धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, छुटेका १,०९१ बालबालिका लाई दिइयो आवश्यक खोप

10 दिन पहिले प्रकाशित

 

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार ३२ गते 

 

धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाबाट छुटेका १६ देखि २३ महिनासम्म उमेर समूहका १ हजार ९१ जना बालबालिकाको खोजी गरी आवश्यक सबै खोप प्रदान गरेपछि बुधबार जनकपुरधाममा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव उमेश कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको प्रभावकारी समन्वय र निरन्तर मेहनतको प्रतिफल भएको बताउनुभयो।

उहाँले खोप लिनबाट छुटेका १ हजार ९१ जना बालबालिकाको पहिचान गरी आवश्यक खोप उपलब्ध गराइएको जानकारी दिँदै आगामी दिनमा कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने अभियानमा धनुषाले हासिल गरेको सफलता अनुकरणीय रहेको बताउनुभयो। उहाँले अभियानलाई सफलतापूर्वक सञ्चालन गरेको भन्दै स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो। साथै अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

मन्त्री साहले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न नेपाल सरकारले उपलब्ध गराउने सबै खोप तोकिएको समयमै लगाउनु प्रत्येक अभिभावकको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले गाउँ–गाउँ र वडा तहसम्म पुगेर खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पूर्ण खोप सुनिश्चितता घोषणा महत्वपूर्ण उपलब्धि भए पनि यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको धारणा राख्नुभयो। उहाँले अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह तथा सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

स्वास्थ्य कार्यालय धनुषाका अनुसार १६ देखि २३ महिनासम्म उमेर समूहका खोपबाट छुटेका १ हजार ९१ जना बालबालिकालाई खोजी गरी राष्ट्रिय खोप कार्यक्रमअनुसार आवश्यक सबै खोप प्रदान गरिएको हो। नियमित रूपमा पूर्ण खोप लगाएमा बालबालिकामा विभिन्न रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुने भएकाले सबै अभिभावकलाई तोकिएको समयमै खोप लगाउन आग्रह गरिएको छ।

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ९ गते  जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुम..

   माेनु गुप्ता  राष्ट्रिय आवाज  जनकपुरधाम, श्रावण ९ गते  मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने ..

  राष्ट्रिय आवाज जनकपुरधाम, साउन ७ गते धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरका..

  राष्ट्रिय आवाज साउन १ गते ,जनकपुरधाम   जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाक..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३२ गते    धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घ..