रामजानकी रङ्गशालामा राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु,मुख्यमन्त्री यादव द्वारा उद्घाटन

3 महीना पहिले प्रकाशित

 

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार ६ गते 

 

जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको रौनक सुरु भएको छ। निको कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले विश्व तथा नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।

उहाँले बहुप्रतीक्षित रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि २५६ करोड रुपैयाँको टेण्डर प्रक्रिया अघि बढाइएको र यसै वर्ष शिलान्यास गरिने जानकारी दिनुभयो। आफू भौतिक पूर्वाधार मन्त्री रहेको समयमा नै रङ्गशालाको डीपीआर निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा घोषणा भएको सहयोगलाई संघ सरकारसँग समन्वय गरी अगाडि बढाइएको स्मरण गर्नुभयो।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको बताउँदै सीमित स्रोतका बीच पनि खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो।

मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले ‘खेली मधेश, जीती मधेश’ नारासहित खेलाडीको वृत्ति विकासका लागि प्रत्येक खेलाडीलाई मासिक २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, महासंघका महासचिव धर्म लामालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा मधेश खेलकुद परिषद्का बोर्ड सदस्य तथा मधेश प्रदेश एथलेटिक्स संघका अध्यक्ष दीपेन्द्र कुमार गोइत, प्रशासन प्रमुख मोहम्मद ज्याउल इस्लाम, तालिम तथा प्रशिक्षण विभाग प्रमुख भरत यादवलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सरोज मिश्रले गर्नुभएको थियो।

प्रतियोगितामा सात प्रदेशका महिला क्रिकेट टोलीसहित सशस्त्र प्रहरीको महिला टोली गरी आठ टोलीको सहभागिता रहेको छ। उद्घाटन खेल मधेश प्रदेश र कोशी प्रदेशबीच हुदैँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..